राजधानी समाचारदाता
काठमाडौं, १३ असोज
नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कस्थित आफ्नो केन्द्रीय कार्यालयको परिसरमा १९ तले भव्य भवन बनाउने प्रक्रिया अघि बढाएको छ । विगत पाँच वर्षदेखि प्राधिकरणको परिसरभित्र खाली रहेको जग्गालाई उपयोग गरेर व्यावसायिक भवन बनाउनुपर्ने प्रस्ताव आएको भए पनि अहिले मात्रै प्राधिकरणले नयाँ भवन बनाउन लागेको हो ।
नयाँ भव्य भवन निर्माणका लागि बीडीए नेपाल लिमिटेडले भवनका डिजाइन फाइनल गरिसकेको प्राधिकरणले जनाएको छ । ‘नयाँ भवनको डिजाइन बनाइसकिएको छ, यस वर्ष प्राधिकरणले ११ करोड बजेटसमेत छुट्ट्याएको छ,’ प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लवबहादुर घिमिरेले भने, ‘७० प्रतिशत विभिन्न बंैक तथा वित्तीय संस्थाबाट ऋण र ३० प्रतिशत प्राधिकरणले लगानी गरेर १९ तले भव्य भवन बनाउन लागिएको हो ।’ चालू आवभित्रै निर्माण सुरु गरेर चार वर्षभित्र भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य प्राधिकरणको छ ।
प्राधिकरणका अनुसार करिब ९० करोड रुपैयाँको लागतमा ६६ सय फिट क्षेत्रफलको नयाँ भवन बनाउन लागिएको हो । पुरानो बसपार्कसँग जोडिएको महेन्द्र पावर हाउस रहेको जग्गामा बनाउन लागिएको सो कर्पोरेट भवन निर्माणका लागि नागरिक लगानी कोष, सञ्चय कोषबाट ऋण लिइने बताइएको छ । घाटामा रहेको प्राधिकरणलाई भवन बनाउँदा आर्थिक घाटा कम गर्न सहयोग पुग्ने देखिएकाले भवन निर्माणको प्रक्रिया अघि बढाइएको र बोर्डले समेत सैद्धान्तिक सहमति दिएको ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष विश्वप्रकाश पण्डितले जानकारी दिए ।
‘प्राधिकरणभित्र उपयोगमा नरहेको जग्गामा भवन बनाएमा प्राधिकरणलाई थप आम्दानी हुन सक्ने तथा यसले घाटामा गएको प्राधिकरणलाई फाइदा हुने भएकाले थप अध्ययनका लागि सञ्चालक समितिलाई निर्देशनसमेत दिएको छ,’ उनले भने । गत वर्ष ११ करोड बजेट राखेर काम नहुँदा खर्च नभएपछि यस वर्ष भने प्राधिकरणले आफ्नो बजेटमा पुनः उत्तिनै रकम छुट्ट्याएको छ । काठमाडौंको मुटु मानिने रत्नपार्कमा २६ रोपनी जग्गा भए पनि करिब आधा जग्गा उपयोगविहीनजस्तो अवस्थामा छ । भवन निर्माण पूरा भएपछि एक वर्षको १९ तले भवनबाट मात्र वार्षिक साढे एक अर्बभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ ।
भवनको सबैभन्दा माथिल्लो तलामा पर स्क्वायर फिट ८० रुपैयाँदेखि सबैभन्दा तल बढीमा २ सय रुपैयाँसम्म आम्दानी हुने अनुमान प्राधिकरणको छ । गत वर्षको मात्र ४ अर्ब ५६ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरणमा पाँच वर्षअघिदेखि परिसरभित्र नयाँ व्यापारिक भवन बनाउने प्रस्ताव आए पनि प्रक्रिया भने अघि बढ्न सकेको छैन ।
चालू आवभित्रै भवन निर्माण सुरु गरिछाड्ने प्राधिकरणका अधिकारी बताउँछन् । त्यसैगरी, प्राधिकरणले परिसरभित्रैकै अर्को स्थानमा समेत अर्को व्यापारिक भवन बनाउने लक्ष्य राखे पनि त्यो भने १९ तले भवन निर्माणपछि मात्र सुरु गर्ने जनाइएको छ । सो भवनको डिजाइन भने तयार भइसकेको प्राधिकरणले जनाएको छ ।
No comments:
Post a Comment