भीम गौतम\राजधानी
काठमाडौं, २६ भदौ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको अधिकार आफैं कटौती गरेको सञ्चालक समितिले फिर्ता गरेको छ । १७ साउनमा भएको सञ्चालक समितिको बैठकले कटौती गरेको अधिकार बुधबारको बैठकबाट फिर्ता गरिएको हो । तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादव रहेका बेला कटौती गरिएको अधिकार नयाँ कार्यकारी निर्देशक अर्जुन कार्की आएपछि भएकोे पहिलो बैठकमै फिर्ता गरिएको प्राधिकरणका एक सञ्चालक सदस्यले जानकारी दिए । सामान्य कामकै लागि पनि प्राधिकरणको बैठक र निर्णय कुर्नुपर्ने भएपछि प्राधिकरणको कामकारबाहीमा सुस्ताएको र एक दिन निर्णय ढिलाइ हुँदा क्लेम र भेरियसनबापत करोडांै घाटा पर्ने भन्दै अधिकार फिर्ताको आलोचनापछि सञ्चालक समिति अध्यक्ष एवं ऊर्जामन्त्री उमाकान्त झा आफंैले कटौती अधिकार फिर्ता लिन बाध्य भएका छन् ।
ऊर्जा मन्त्रालयसँगै सिँचाइ, विज्ञान तथा प्रविधि, वातावरणलगायतका मन्त्रालय सम्हालिरहेका ऊर्जामन्त्री झाको व्यवस्थाका कारण प्राधिकरण सञ्चालक समितिको बैठक बस्नै ढिला हुने र निर्णय नहुँदा ट्रान्सफर्मर प्रकरणले सुस्त प्राधिकरण झन् सुस्त हुने भन्दै अधिकार कटौतीका आलोचना गरिएको थियो । लिलाम बिक्री स्वीकृति, घरजग्गा तथा अन्य सम्पत्ति भाडामा लिने, मालसामान निर्माण कार्य र अन्य सेवाको लागत र परामर्श सेवाको लागत अनुमान, सिलबन्दी दरभाउ पत्र, बोलपत्रद्वारा निर्माण कार्य, मालसामान तथा अन्य सेवा खरिद, प्रोप्राइटरी सामान खरिद गर्न लाग्ने खर्च र सेवा शुल्क लिई कार्य गर्न, ३ लाखसम्मको एकल दरभाउ पत्र लिई सोझै खरिद गर्नेलगायतका सानातिना कामसमेत प्राधिकरण सञ्चालक समितिले निर्णय गर्नुपर्ने भन्दै कार्यकारी निर्देशकको अधिकार कटौतीपछि अधिकांश काम ठप्प भएका थिए । २५ मेगावाटसम्मका विद्युत् खरिद सम्झौता (पीपीए) तथा भेरियसनबाहेक टेन्डरलगायतका कार्यका लागि निर्णय गर्ने अधिकार गर्ने अधिकार कार्यकारी निर्देशकमा रहेकोमा त्योसमेत कटौती गरिएको थियो ।
| थप ३० मेगावाट आयात गर्न स्वीकृति |
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले भारतबाट थप ३० मेगावाट विद्युत् ल्याउन स्वीकृति दिएको छ । भारतको छत्तीसगढ विद्युत् प्राधिकरणबाट टनकपुर हुँदै थप ३० मेगावाट विद्युत् आयात गर्न बुधबारको सञ्चालक समितिले स्वीकृति दिएको हो । भारतीय रुपैयाँ ३ दशमलव ७५ पैसामा विद्युत् किन्न वार्ता प्रक्रिया अघि बढाउन प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको एक सञ्चालकले जानकारी दिए । उनका अनुसार छिटोभन्दा छिटो वार्ता गरेर विद्युत् आयात गर्न बैठकले स्वीकृति दिएको हो । हाल वर्षामा भारतबाट १ सय १० मेगावाट गरिरहेको प्राधिकरणले गत हिउँदमा १ सय ८० मेगावाटसम्म आयात गरेको थियो । आगामी हिउँदमा दैनिक १८ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपणपछि लोडसेडिङ न्यूनीकरणका लागि भारतबाट २ सय ५० मेगावाटभन्दा बढी विद्युत् आयात गरी दैनिक १२ घन्टामा लोडसेडिङ सीमित गर्ने लक्ष्य सरकारको छ ।
No comments:
Post a Comment