Tuesday, September 3, 2013

त्रिशूली–३ ‘ए’ राजनीतिक हस्तक्षेपले झन् अन्योलमा


भीम गौतम÷राजधानी काठमाडौं, १७ भदौ
निर्माणाधीन ६० मेगावाटको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना बारम्बार राजनीति हस्तक्षेपले गर्दा झन् अन्योलमा पर्दै गएको छ । निर्माण सुरु भएदेखि नै क्षमता बढाउने÷नबढाउने विषयमा सुरु भएको राजनीतिक हस्तक्षेपदेखि नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापनको कमजोरीसम्मको कारणले आयोजना झन् अन्योलमा परेको हो ।
आयोजना सम्बद्ध स्रोतका अनुसार निर्माण सुरु हुने बेलादेखि सुरु भएको क्षमता बढाउने÷नबढाउने विवाद अझै पूर्ण रूपमा टुंगो लागिसकेको छैन भने कहिले क्षमता बढाउने त कहिले नबढाउने भन्दै प्राधिकरणले दोहोरो तरिकाले पत्र पठाउँदा आयोजनाको निर्माण गरिरहेको ठेकेदार कम्पनीसमेत अन्योलमा परेको छ ।
‘कहिले क्षमता बढाउने निर्णय गर्छ, कहिले रद्द गर्छ । ९० मेगावाट क्षमता पु¥याइएको पत्र पाएपछि डिजाइन परिवर्तन भयो,’ ठेकेदार कम्पनी चाइना गेजुवा अफ कम्पनीका एक प्रतिनिधिले भने, ‘फेरि ६० मेगावाटकै कुरा आयो, अहिले त्यहीअनुसार डिजाइन गरिरहेका छौं ।’ उनका अनुसार अब डिजाइन गर्नका लागि करिब डेढ महिना लाग्छ भने निर्माण सम्पन्न गर्न बाँकी नौ महिनासहित थप ३२ देखि ३५ महिना लाग्छ । ठेकेदार कम्पनीले समेत प्राधिकरणलाई थप ३० महिना लाग्ने पत्र पठाइसकेको छ ।
पूर्वऊर्जामन्त्री प्रकाशरण महतको पालादेखि क्षमता बढाउने÷नबढाउने विवाद रहँदै आए पनि पूर्वऊर्जामन्त्रीहरू गोकर्ण विष्ट, पोष्टबहादुर बोगटी र राधा ज्ञवालीको कार्यकालमा क्षमता बढ्न सकेन । तर, सबै मन्त्रीहरूले आयोजनाको क्षमता बढाउने÷नबढाउनेबारे स्पष्ट निर्णय गर्न सकेनन् । ऊर्जामन्त्रीसमेत रहेका तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले १९ पुसमा क्षमता बढाउनका लागि स्वीकृति दिएका थिए । त्यसपछि प्राधिकरण सञ्चालक समितिले भने क्षमता वृद्धिको निर्णय गरेन । तर, मन्त्रिपरिषद्को निर्णयअनुसार, तत्कालीन आयोजना प्रमुख गोपालबाबु भट्टराईले उक्त पत्र पठाएका थिए । ठेकेदार कम्पनीले भने पत्र प्राप्त भएपछि ९० मेगावाटमा डिजाइन गरेको थियो ।
ऊर्जामन्त्री उमाकान्त झा आएपछि १७ जेठमा क्षमता वृद्धिको निर्णय गरेको थियो भने व्यापक दबाबपछि जेठको अन्तिममा निर्णय फिर्ता गरेको थियो । निर्णय फिर्ता लिएको र आयोजनाको क्षमता १ सय ४५ मेगावाटसम्म पु¥याउनुपर्ने भन्दै एकीकृत माओवादी तथा कांग्रेस र एमालेका केही स्थानीय नेताहरू समेतको संलग्नतामा आयोजनाको निर्माणमा अवरोध पु¥याइएको थियो । ‘हालै पुनः ६० मेगावाटमै बनाउने भन्ने पत्र पाएपछि फेरि पहिलाको डिजाइन परिवर्तन गरेर नयाँ डिजाइन गरिरहेका छौं, पहिला एक महिना लगाएर डिजाइन गरेको फेरि रिडिजाइन गर्नुपर्ने भयो,’ ठेकेदार कम्पनीका एक प्रतिनिधिले भने । आयोजना निर्माण गर्नमा स्थानीयवासीले अवरोध गरेपछि विगत दुई महिनादेखि आयोजनाको निर्माण कार्य पूर्ण रूपमा अघि बढ्न सकेको छैन ।
‘जनता र प्राधिकरणको सहयोग पाएमा हामी काम ठीक तरिकाले अगाडि बढाउन सक्छौं,’ ठेकेदार कम्पनीका प्रबन्धक वाङझियाङले भने । आयोजनाको काम हालसम्म करिब ३५ प्रतिशत मात्र सकिएको छ भने ४ हजार ९५ मिटर सुरुङमध्ये २३ सय मिटर निर्माण सकिएको छ । आयोजनाका निमित्त प्रमुख उत्तम अमात्यले दु्रतगतिमा काम अघि बढ्न नसकेको स्विकार्दै बाँकी नौ महिनाभित्र आयोजनाको निर्माण कार्य पूरा हुन कठिन देखिएको बताए । ‘हामीले ठेकेदार कम्पनीलाई बारम्बार भनेका छौं, तर काम सुस्त छ,’ उनले भने ।
http://www.erajdhani.com/en/business/13962------

No comments: