Wednesday, September 4, 2013

१८० थान ट्रान्सफर्मर प्रतिस्थापन गर्न प्राधिकरणलाई पत्र


Transformer-300x225भीम गौतम\राजधानी
 काठमाडौं, १९ भदौ 
चीनीयाँ कम्पनी जेके होल्डिङ कम्पनी चीनले १८० थान गुणस्तरहिन ट्रान्सफर्मर प्रतिस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्र पठाएको छ । बाहिर र भित्र तामा हुनुपर्नेमा सम्झौता विपरित दुवैमा आल्मुनियम पठाएर बदमासी गरेको जेके होल्डिङले सोमबार प्राधिकरणलाई पत्र पठाउँदै प्रतिस्थापन गर्ने प्रतिवद्धता जनाएको हो ।
आफ्नो बदमासी स्वीकार्दै जेके होल्डिङले पत्रमा आगामी २० देखि २५ सेक्टेम्बरभित्र १८० ट्रान्सफर्मर प्रतिस्थापन गर्ने उल्लेख गरेको छ । प्राधिकरणका एक अधिकारीका अनुसार, ती १८० थान प्रतिस्थापनपछि बाँकी ट्रान्सफर्महरूसमेत छिट्टै पठाइने पत्रमा उल्लेख छ । ०६७ र ६८ मा प्राधिकरणले जेके होल्डिङमार्फत ४ लाख ५० हजार ६ सय ७ अमेरिकी डलरमा ४ सय ७४ थान ट्रान्सफर्मर आयात गरिएको थियो ।
आयात गरिएका ट्रान्सफर्मरमा खराबी देखिएपछि प्राधिकरणले जेके होल्डिङलाई प्रतिस्थापनका लागि पत्र लेखेको थियो । पत्रपछि गत पुसमा २ सय १० थान ट्रान्सफर्मर प्रतिस्थापनका लागि पठाएकोमा ती ट्रान्सफर्मरमा समेत चुहावट देखिएको थियो । प्रतिस्थापन गरिएका ट्रान्सफर्मरहरूमा समेत खराबी देखिएपछि प्राधिकरणले अर्को पत्र लेखेको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०६३ सालपछि खरिद गरिएका ट्रान्सफर्मर प्रकरणमा मुछिएका प्राधिकरणका कर्मचारी, पुर्व कर्मचारी, ठेकेदार कम्पनी तथा स्थानीय एजेन्टहरूलाई समेत पक्राउ गरी छानवीन गरेपछि जेके होल्डिङले हाललाई १८० थान ट्रान्सफर्मर प्रतिस्थापन गर्ने पत्र लेखेको हो ।
प्राधिकरणका पूर्व सञ्चालक सदस्य डा. केपी दुलालको संयोजकत्वमा रहेको ट्रान्सफर्मर छानवीन समितिले जेके होल्डिङमार्फत पठाइएका ट्रान्सफर्मरहरू गुणस्तरहिन भए पनि बाहिर र भित्र दुवै आल्मुनियम भएको भने उल्लेख छ । प्राधिकरणका एक अधिकारीका अनुसार, ट्रान्सफर्मर प्रकरण चर्केसँगै बाहिर र भित्र दुवैमा आल्मुनियम पठाएर वदमासी गरेको जेके होल्डिङबाट खरिद गरिएका अधिकांश ट्रान्सफर्मरहरू जडानका लागि नपठाई केन्द्रीय भण्डार हेटौडामा राखिएको थियो । ४ सय ७४ थानमध्ये २७ थान ट्रान्सफर्मर मात्र प्रयोगका लागि विराटनगर पठाइएकोमा तीमध्ये पनि दुईवटा मात्रै ट्रान्सफर्मर जडान गरिएको प्राधिकरण स्रोतले जनाएको छ ।
प्राधिकरणले चीनकै हुवेई सनलाईट इलेक्ट्रिक कम्पनीमार्फत खरिद गरेको १ हजार ९ सय ९५ वटा ट्रान्सफर्मरमा बाहिर तामा र भित्र आल्मुनियम भेटिएपछि ट्रान्सफर्मर प्रकरण चर्किएको थियो । यही प्रकरणमा अख्तियारले प्राधिकरणका कर्मचारी, पुर्वकर्मचारी, ठेकेदार कम्पनी, स्थानीय एजेन्ट लगायत गरी २६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ भने २३ जना पक्राउ परिसकेका छन् । प्राविधिकका अनुसार आल्मुनियम प्रयोग गरिएको ट्रान्सफर्मरमा छिटो बिग्रिने, फुल लोड नधान्ने, चुहावट बढी हुने, एकपटक बिग्रेपछि मर्मत गर्न नसकिने, आयु कम हुने लगायत समस्या हुन्छन् ।

No comments: