Tuesday, September 3, 2013

विद्युत प्राधिकरण कार्यकारी निर्देशकमा कार्की

राजधानी समाचारदाता
    कठमाडौं, १७ भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा जल तथा उर्जा आयोगका सह–सचिव अर्जुन कार्कीलाई नियुक्त गरिएको छ ।
    मन्त्री परिषदको सोमबारको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि कार्कीलाई नियुक्त गरेको सुचना तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका बहालवाला र पुर्व गरी ३२ जना उच्च अधिकारी र कर्मचारीहलाई ट्रान्सफर्मर प्रकरणमा दोषी देखाउँदै पक्राउ गरेपछि अभिभावक विहिन भएको प्राधिकरणमा अनुभवी कार्कीलाई नियुक्त गरिएको हो । पहिला २०६३ देखि २०६५ सालसम्म दुई बर्ष प्राधिकरणको कार्यकारी निर्देशक रहिसकेका कार्कीलाई हक्की स्वभावका व्यक्तिको रुपमा चिनिन्छ । अहिले प्राधिकरणमा ट्रान्सफर्मर प्रकरण, सम्पत्ति छानवीन, अन्य विभिन्न आयोजनामा अनियमिता लगायत गरी उच्च अधिकारीसहित करिब ३ सय ७० जना अख्तियारको छानवीनमा परेपछि प्राधिकरणको काम कार्बाही अघि बढ्ननै कठिन छ । संकटमा परेको प्राधिकरणलाई जोगाउनका लागि कमाण्ड गर्न सक्ने व्यक्तिको रुपमा कार्कीलाई प्राधिकरणका कर्मचारीहरुले लिएका छन् ।
    प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लवबहादुर घिमिरेले प्राधिकरणमा विशेष अवस्था आएको बताउँदै उर्जा मन्त्रालयसँग कार्यकारी निर्देशकको लागि पत्र लेखेका थिए । त्यस लगत्तै उर्जा मन्त्रालयले मन्त्री परिषदमा प्रस्ताव लगेको थियो । मन्त्री परिषदले कार्कीलाई नियुक्त गरेपछि प्राधिकरणका कर्मचारीहरुमा केही आशा जागेको छ । ट्रान्सफर्मर प्रकरणको कारणले विगत तीन महिना यता दैनिक कामकार्बाही मात्र भएको र केही नयाँ निर्णय हुन नसकेको प्राधिकरणमा कार्की आएपछि प्राधिकरणले गति पाउने आशा गरिएको छ ।

No comments: