Monday, September 2, 2013

चमेलिया जलविद्युत् ठेकेदार कम्पनीको धरौटी जफत


भीम गौतम\राजधानी
काठमाडौं, १६ भदौ
निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको कोरियन ठेकेदार कम्पनी केएचएनपी कन्सोटियमले राखेको धरौटी नेपाल विद्युत् प्राधिकरणले जफत गरेको छ ।
इलेक्ट्रोमेकानिकल, हाइड्रो मेकानिकल र १३२ केभी प्रसारण लाइन निर्माणको ठेक्का लिएको सो कम्पनीको रकम प्राधिकरणले जफत गरेको हो । शुक्रबार प्राधिकरणले सो ठेकेदार कम्पनीले एडभान्स पेमेन्टबापत बैंक अफ काठमाण्डूमा राखेको १२ करोड २८ लाख ८१ हजार बराबरको रकम जफत गरेको हो । प्राधिकरणद्वारा परफर्मेन्सबापत राखिएको ३ करोड २६ लाख ३२ हजार बराबरको रकमको जफत गर्ने प्रक्रियासमेत प्राधिकरणले अघि बढाएको छ । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लवबहादुर घिमिरेले सर्वोच्च अदालतको आदेशपछि रकम जफत गरिएको जानकारी दिए ।
१५ दिनअघि कोरियन कम्पनी कन्सोटियमले प्राधिकरणलाई पत्र पठाउँदै आयोजनाको बढेको समयबापतको १ अर्ब ४० करोड भुक्तानी नदिएको भन्दै एकतर्फी रूपमा सम्झौता तोडेको थियो । सम्झौता तोडेसँगै करार ऐन २०५६ को दफा ८७ अनुसार धरौटीमा राखिएको रकम जफत नगराउन आदेश माग्दै १५ दिनअघि नै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले शुक्रबार प्राधिकरणको पक्षमा आदेश दिएलगत्तै प्राधिकरणले एडभान्स पेमेन्टबापतको सो रकम जफत गरेको हो । जफत रकमबारे प्राधिकरणको आइतबार बसेको ६६२औं बैठकमा जानकारीसमेत दिइएको थियो ।
सन् २००९ को अप्रिलदेखि सन् २०११ को डिसेम्बरभित्र काम सम्पन्न गर्नेगरी सम्झौता गरेको सो कम्पनीको म्याद सन् २०१३ को डिसेम्बर ३० सम्म थपिएको थियो । विभिन्न कारणले सिभिलको ठेक्का लिएको चाइना गेजुवा गु्रप लिमिटेड (सीजीजीसी) ले समयमै आयोजनाको काम पूरा गर्न नसकेपछि थपिएको समयको समेत कोरियन कम्पनीले प्राधिकरणसँग रकम मागेको थियो । सम्झौतामा थपिएको समयको रकम दिन नमिल्ने उल्लेख भएको भन्दै प्राधिकरणले दिन नमानेपछि कोरियन कम्पनीले ३० साउनमा एकतर्फी रूपमा ठेक्का तोडेको थियो । कोरियाली सरकारको सहयोगमा निर्माण गरिरहेको आयोजनाको लागत १३ अर्ब नाघिसकेको छ भने सुरुङको ५५० मिटर क्षेत्र सा“घुरिदै गएपछि निर्माणमा थप समस्या बढेको छ । सन् २०१३ को अगस्टभित्र निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहे पनि पूरा हुन सकेन । आयोजना निर्माण पूरा हुन् अब थप एक वर्ष लाग्ने अनुमान गरिएको छ ।

No comments: