Tuesday, September 10, 2013

व्यवसायीद्वारा प्रस्तावित महसुल पुनर्विचार गर्न आग्रह

लोडसेडिङ नहुने डेडिकेटेड फिडरको तयारी गरिँदै 

भीम गौतम\राजधानी 
काठमाडौं, २५ भदौ
 नेपाल विद्युत् प्राधिकरणले छुट्टै लाइनमार्फत लोडसेडिङ नहुने गरी दिइने डेडिकेटेड फिडरका लागि सार्वजनिक आह्वान गर्ने भएको छ । डेडिकेटेड फिडरबाट विद्युत् लिन चाहने उद्योगी व्यवसायीहरूको आवश्यकताका आधारमा डेडिकेटेड फिडरबारेमा थप योजना बनाउनका लागि सार्वजनिक आह्वान गर्न लागेको हो ।
उद्योगीहरूले कहाँ, कति समयका लागि र कति मूल्यमा लिन सकिन्छ भन्ने जानकारी लिनका लागि उनीहरूको आशयपत्रका लागि सार्वजनिक सूचना जारी गर्न लागेको विद्युत् महसुल निर्धारण आयोगका अध्यक्ष गणेश सुब्बाले जानकारी दिए । मंगलबार आयोगले फिडरबारे प्राधिकरण र उद्योग व्यवसायीबीच गरेको छलफलमा उनीहरूले प्राधिकरणले निर्धारण गरेको मूल्य महँगो भएको बताएपछि त्यसको पुनर्विचार गर्नुपर्ने बताएका थिए । फिडर स्थापनापछि उद्योग व्यवसायीहरूले उपयोग नगरेमा अर्थहीन हुने निष्कर्ष निकाल्दै उद्योगी व्यवसायीहरूका लागि सार्वजनिक सूचना आह्वान गरी उनीहरूको आवश्यकताका आधारमा मात्र योजना बनाउन लागिएको हो ।
व्यवसायीकै आग्रहमा उद्योगी व्यवसायीहरूलाई फिडर दिन लागिए पनि उनीहरूले महँगो भएको बताएपछि व्यापारी व्यवसायीको आवश्यकताबारे सम्पूर्ण विवरण लिई फिडरबारे नयाँ कार्यविधि र महसुल निर्धारणका लागि अघि बढ्ने प्राधिकरणका एक अधिकारीले बताए । ‘उद्योगी व्यवसायीहरूले सार्वजनिक सूचनापछि आफ्नो उद्योगको आवश्यकताका आधारमा दिइने विवरणलाई हेरेर अहिले प्राधिकरणले गरेको प्रस्तावबारे अन्तिम निर्णय हुन्छ,’ प्राधिकरणका ती अधिकारीले भने, ‘प्राधिकरणले फिडर दिन लाग्दा व्यापारीले महँगो भयो भनेर नलिए समस्या हुन्छ ।’ ११ केभीदेखि १३२ केभीसम्मको लाइनबाट प्राधिकरणले फिडर दिँदा प्रतियुनिट १५ देखि २२ रुपैयाँसम्म तोकेको छ ।
उद्योग व्यवसायीहरूले भने प्राधिकरणबाट साविकको विद्युत् तथा लोडसेडिङको बेला जेनेरेटर चलाउँदा प्रतियुनिट १३÷१४ रुपैयाँसम्म मूल्य मात्र परेको भन्दै प्राधिकरणले तोकेको महसुल महँगो भएको बताएका थिए । प्राधिकरणले २० घन्टा नबढ्ने गरी डेडिकेटेड फिडरको प्रस्ताव गरेको छ । प्राधिकरणले पहिलाभन्दा दोब्बर महसुल लिने गरी मुलुकका ६ Ôेत्रका कोरिडोरमार्फत उद्योग व्यवसायमा फिडर दिन प्रस्ताव गरेको थियो । गत जेठमा लोडसेडिङको कारणले उद्योगधन्दा धराशयी भएको भन्दै व्यापारी, व्यवसायीले सरकारका अधिकारीलाई डेडिकेटेड फिडरका लागि दबाब दिएपछि ६ सय ५३औं बैठकमा निर्णय गरी फिडर दिने प्रस्ताव गरेको थियो ।
प्रस्तावमा ६ कोरिडोरमार्फत ५६ मेगावाट विद्युत् दिने उल्लेख छ । प्राधिकरणका अनुसार सुनसरी–मोरङ कोरिडोरमार्फत १२ मेगावाट, सिमरा–वीरगन्ज, हेटौंडा–भरतपुरमार्फत २५ मेगावाट, जनकपुर–सगरमाथामार्फत चार मेगावाट, पोखरामार्फत २ दशमलव ५ मेगावाट, काठमाडौंमार्फत पाँच मेगावाट र बुटवल कोरिडोरमार्फत ७ दशमलव ५ मेगावाटसम्म विद्युत् दिइने प्रस्ताव गरिएको छ । ५६ मेगावाट विद्युत्मध्ये ३० मेगावाट थर्मलमार्फत र २६ मेगावाट भारतबाट ल्याइने प्राधिकरणको प्रस्तावमा उल्लेख छ । एक मेगावाटभन्दा बढी खपत गर्ने उद्योगलाई मात्र दिइने लक्ष्य राखिएको सो फिडरबाट विद्युत् दिँदा सर्वसाधारणलाई थप लोडसेडिङ नहुने नगरी दिन लागिएको प्राधिकरण स्रोतले जनाएको छ ।
प्राधिकरणका अनुसार बालाजु औद्योगिक Ôेत्र, पाटन औद्योगिक Ôेत्र, नेपाल टेलिकम, एनसेललगायतका देशभरका उद्योगमा दिइएको डेडिकेटेड फिडरमार्फत करिब २५ मेगावाट विद्युत् खपत हुँदै आएको छ ।

No comments: