Tuesday, September 17, 2013

ट्रान्सफर्मर घोटाला प्रकरण ४१ करोड बिगोमा २४ करोड धरौटी

भीम गौतम\राजधानी
 काठमाडौं, १ असोज
 गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरेर भ्रष्टाचार अभियोगमा मुद्दा खेपिरहेका प्राधिकरणका २१ कर्मचारी र ठेकेदार कम्पनीका दुई प्रतिनिधिसँग अदालतले २५ हजारदेखि १७ करोड ५० लाख रुपैयाँसम्म धरौटी माग गरेको छ । विशेष अदालतले मंगलबारको थुनछेक बहसपछि तत्कालिन कार्यकारी निर्देशक रामेश्वर यादवसहितका कर्मचारीलाई धरौटी बुझाउन आदेश दिएको हो । अदालतले आदेश दिए पनि धरौटी रकम बुझाउन नसकेको र खरिद प्रकरणकै अर्को मुद्दा विचाराधीन रहेकाले उनीहरू रिहा भने हुन सकेनन् ।
खरिद प्रकरणमा ४१ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतले थुनछेको बहसपछि सबै प्रतिवादीबाट जम्मा २४ करोड धरौटी बुझाउन आदेश दिएको हो । अदालतले पूर्व कार्यकारी निर्देशक जीवेन्द्र झालाई भने तत्काल प्राप्त प्रमाणका आधारमा संलग्नता नदेखिएको भन्दै तारेखमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतले २४ करोड बराबरको धरौटी मागेको छ ।
अदालतले फरार रहेका ठेकेदार कम्पनीका नेपाली एजेन्टसहित हुवेई कम्पनीका अध्यक्षलाई भने पक्राउ पुर्जी जारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४१ करोड १८ लाख रुपैयाँ बराबर बिगो माग गर्दै ठेकेदार कम्पनीका प्रतिनिधिसहित २३ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकोमा मंगलबार अदालतले २४ करोड ४ लाख बराबरको धरौटी माग गरेको हो । ०६७÷६८ मा चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीबाट नेपाल विद्युत् प्राधिकरणले दुई चरणमा खरिद गरिएका १९ सय ९५ ओटा गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणविरुद्ध ४ भदौमा अख्तियारले मुद्दा दायर गरेको थियो ।
प्राधिकरणले पहिलो चरणमा १ हजार २ सय ६० थान र विश्व बैंकको सहयोगमार्फत दोस्रो चरणमा ७ सय ३५ थान ट्रान्सफर्मर खरिद गरेको थियो । विशेष अदालतले पहिलो चरणको ट्रान्सफर्मर खरिदसम्बन्धी मुद्दामा १५ जनालाई १६ करोड ६८ लाख ७५ हजार तथा दोस्रो चरणको खरिदमा ११ जनालाई ७ करोड ३५ लाख ७५ हजार बराबरको धरौटी मागेको हो । दुवै मुद्दामा हुवेई इलेक्ट्रिक कम्पनी चीनका महाप्रबन्धक हु जेन क्वाङ, प्राधिकरणका कार्यकारी निर्देशक एवं तत्कालीन महाप्रबन्धक यादव र हुवेईका नेपाल एजेन्ट जु इ त्यानलाई छुट्टाछुट्टै धरौटी लिन विशेष अदालतले आदेश दिएको छ । सबैभन्दा बढी क्वाङसँग १७ करोड ५० लाख तथा सबैभन्दा कम प्राधिकरणका सहायक सरोज श्रेष्ठलाई २५ हजार रुपैयाँ धरौटी माग गरिएको छ ।
क्वाङलाई पहिलो चरणको ट्रान्सफर्मर मुद्दामा १२ करोड र दोस्रो चरणको ट्रान्सफर्मर मुद्दामा ५ करोड ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ । त्यसैगरी, प्राधिकरणका कार्यकारी निर्देशक एवं तत्कालीन महाप्रबन्धक रामेश्वर यादवलाई पहिलो चरणको ट्रान्सफर्मर खरिद प्रकरणमा ३ करोड तथा दोस्रो चरणको ट्रान्सफर्मर खरिद मुद्दामा १ करोड धरौटी माग गरेको छ । त्यसैगरी, अख्तियारले खरिद प्रक्रियामा संलग्न भन्दै सनलाई हुवेई इलेक्ट्रिक कम्पनी चीनका अध्यक्ष लि दाओ गु तथा नेपालका स्थानीय एजेन्ट अमरराज भण्डारीविरुद्ध समेत मुद्दा दायर गरिएकोमा अदालतले उनीहरू फरार रहेको भन्दै पक्राउ परेपछि थुनछेक बहस गरी आवश्यकताअनुसार सजाय तोकिने जनाएको छ ।
हुवेईका नेपाल एजेन्ट जु इ त्यानलाई भने पहिलो चरण ट्रान्सफर्मर मुद्दामा १ करोड र दोस्रो मुद्दामा ५० लाख धरौटी मागेको छ । अर्का तत्कालीन कार्यकारी निर्देशक डा.जीवेन्द्र झालाई भने विशेष अदालतले ट्रान्सफर्मर भुक्तानीमा संलग्नतामा नभएको भन्दै सामान्य तारिखमा रिहा गर्न आदेश दिएको छ । पहिलो चरणको मुद्दामा तत्कालीन कार्यकारी निर्देशक टीकाराम बीसीलाई १ लाख, तत्कालीन महाप्रबन्धक चिरञ्जीवी शर्मालाई १ लाख ५० हजार, तत्कालीन सहनिर्देशक हरिशबहादुर पाललाई १ लाख ५० हजार, प्राधिकरणका कैलाशकुमार अटललाई १ लाख ५० हजार, इन्जिनियर नारायण चौधरीलाई १ लाख र भण्डार सहायक सरोज श्रेष्ठलाई २५ हजार रुपैयाँ धरौटी तोकेको छ ।
त्यसैगरी, तत्कालीन कर्मचारीहरू लेखा अधिकृत सुरेशकुमार कटुवाल र लेखा अधिकृत सुशीलप्रसाद खनाललाई १÷१ लाख तथा प्रबन्धक सिन्धु यादव, सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरू, प्रबन्धक शेखरकुमार दत्त र सुरेन्द्रराज जोशीलाई १५÷१५ लाख रुपैयाँ धरौटी तोकेको छ । त्यसैगरी, दोस्रो चरणको विश्व बैंकको ऋण सहयोगमा खरिद गरिएको ट्रान्सफर्मरतर्फ विशेष अदालतले तत्कालीन कार्यकारी निर्देशक यादव तथा ठेकेदार कम्पनीका दुई प्रतिनिधिसँगै अन्य आठ कर्मचारीलाई धरौटी तोकेको छ ।
तत्कालीन तनहँु जलविद्युत् आयोजनाका निर्देशक महेशप्रसाद आचार्यलाई १ लाख ५० हजार, तत्कालीन ग्रिड विकासका निर्देशक देव शर्मा पौडेललाई १ लाख तथा तत्कालीन वितरण जिन्सी व्यवस्थापन महाशाखाका प्रबन्धक कृष्णबहादुर थापा र उपनिर्देशक कृष्णबहादुर केसीलाई १÷१ लाख धरौटी अदालतले तोकेको छ । त्यसैगरी, तत्कालीन काठमाडौं सुदृढीकरण आयोजनाका निमित्त प्रमुख प्रमोद रिजाललाई ५० हजार, प्रबन्धक मदनराज चापागाईं र इन्जिनियर प्रज्वल पाण्डेलाई १५÷१५ लाख तथा भण्डार प्रमुख भरत रुपाखेतीलाई ७५ हजार धरौटी अदालतले तोकेको छ ।
विशेष अदालतले हुवेईले ५५ थान ट्रान्सफर्मर प्रतिस्थापन गरिसकेको तथा बाँकी ट्रान्सफर्मरहरू समेत प्रतिस्थापन गर्न प्राधिकरणलाई पत्र लेखेको भन्दै त्यो प्रक्रिया अघि बढाएर सबै ट्रान्सफर्मर प्रतिस्थापन गरेमा आदेश उपर पुनर्विचार गर्न सकिने पनि अदालतको आदेशमा उल्लेख छ । आदेशमा प्रतिस्थापनको प्रक्रिया सुरु गरी पूरा गरेर अदालतमा जानकारी समेत भनिएको छ । कसलाई कति धरौटी
हु जेन क्वाङ    १७ करोड ५० लाख
रामेश्वर यादव    ४ करोड
जु इ त्यान    १ करोड ५० लाख
टीकाराम बीसी    १ लाख
चिरञ्जीवी शर्मा    १ लाख ५० हजार
हरिशशहादुर पाल    १ लाख ५० हजार
कैलाशकुमार अटल    १ लाख ५० हजार
नारायण चौधरी    १ लाख
सरोज श्रेष्ठ    २५ हजार
शुरेशकुमार कटुवाल    १ लाख
सुशीलप्रसाद खनाल    १ लाख
सिन्धु यादव    १५ लाख
सुरेन्द्रप्रसाद पनेरू    १५ लाख
शेखरकुमार दत्त    १५ लाख
सुरेन्द्रराज जोशी    १५ लाख
महेशप्रसाद आचार्र्य    १ लाख ५० हजार
देव शर्मा पौडेल    १ लाख
कृष्णबहादुर थापा    १ लाख
कृष्णबहादुर केसी    १ लाख
प्रमोद रिजाल    ५० हजार
मदनराज चापागार्इं    १५ लाख
प्रज्वल पाण्डे    १५ लाख
भरत रुपाखेती    ७५ हजार

No comments: