राजधानी समाचारदाता
काठमाडौं
जलस्रोतविज्ञले महाकाली नदीमा आएको बाढीका कारण दार्चुलामा भएको क्षतिबारे यथार्थ छानबिन आयोग बनाउन माग गरेका छन् । जलस्रोत विकास संस्था नेपाल÷विश्व जल साझेदारी नेपाल तथा जल उत्पन्न प्रकोप नियन्त्रण विभागले संयुक्त रूपमा शुक्रबार राजधानीमा आयोजना गरेको ‘वर्तमान बाढी र भू–स्खलन–महाकाली र दार्चुला’ विषयक अन्तक्र्रियामा उनीहरूले नेपाल–भारत संयुक्त छानबिन र अनुसन्धान आयोग गठन गर्न माग गरेका हुन् ।
धौलीगंगा बाँधका कारण बढी क्षति भएको आशंका गर्दै उनीहरूले महाकाली सन्धिको आर्टिकल–७ र ८ अनुसार दुवै सरकारले संयुक्त रूपमा यथार्थ खोजबिन आयोग गठन गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिए । सरकारले बाढीबाट क्षति भएकोबारे राजनीति दल र सरकारले हालसम्म कुनै आवाज नउठाएकोमा आपत्तिसमेत जनाए । उनीहरूले बाढीका कारण नेपाल–भारत सीमा हराएकाले तुरुन्तै सीमाना संरक्षण गर्न सरकारलाई आग्रह गरेका छन् ।
सीमानजिकै कुनै आयोजना बनाउनुपरे दुई देशबीचको सहमतिमा मात्र बनाउनुपर्ने, राजनीतिक रूपमा दुईदेशीय छलफल गरी बाढीले मगाएको सिमाना यकिन गर्नुपर्ने र अन्य समस्या समाधानका लागि पहल गर्नुपर्ने, पहिला महाकाली नदीको बाढी प्रक्षेपण केन्द्र राख्ने उल्लेख भए पनि अहिलेसम्म नराखेकोमा राख्नुपर्ने, बाढीले प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई नदी प्रवाह र बाढीप्रकोपबारे जानकारी दिनुपर्ने सुझाव उनीहरूको छ ।
विज्ञले दार्चुला बाढीको कारणबारे सिंहदरबार–दिल्ली वार्ता हुनुपर्ने अवस्था देखिएको बताउ“दै अन्य क्षेत्रमा हुन सक्ने बाढी प्रकोप न्यूनीकरणका लागि वार्ता गर्नुपर्ने, सरकार तथा जिम्मेवार राजनीति दलका नेता बाढी प्रकोपबाट जनताले पाएको सास्ती अन्त्यका लागि नीतिगत व्यवस्थापन, पुर्वतयारीका साथै दुईदेशीय सन्धिका आधारमा विभिन्न संयन्त्र निर्माणमा सक्रिय हुनुपर्ने माग गरेका छन् । पूर्वजलस्रोत सचिव सूर्यनाथ उपाध्याय, इसिमोडकी जलस्रोत विशेषज्ञ मन्दिरा श्रेष्ठ, जलस्रोतविज्ञ डा. द्वारिकानाथ ढुंगेल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक सन्तबहादुर पुन, विज्ञ नवीनमंगल जोशीलगायतले दार्चुला बाढीको कारणबारे सरकार गम्भीर नभएको र छानबिन गर्न तत्परता देखाउनुपर्नेमा त्यसो नगरिएको आरोप लगाए । कार्यक्रममा प्रस्तुत सुझाव समेटेर प्रतिवेदन सरकार र सरोकारवाला निकायलाई जलस्रोत विकास संस्थाका उपाध्यक्ष सोमनाथ पौडेलले जानकारी दिए । जलस्रोत विज्ञको उपस्थितिमा गरिएको अन्तक्र्रियामा हालै धेरै जनधन क्षति हुने गरी दार्चुलामा आएको बाढी, त्यसको प्रभाव, त्यसबाट उब्जिएको पाठ र नेपाल–भारत महाकाली सन्धिलगायतमा छलफल गरिएको छ । कार्यपत्र प्रस्तुत गर्दै जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक प्रकाश पौडेलले सन् १९५४ देखि २०१३ सम्म कोसी, बाग्मती, नारायणी, कर्णाली, महाकालीलगायतका नदीमा २६ ओटा ठूला बाढी आएको जानकारी दिए । धौलागंगाको पानी महाकालीमा मिसिएपछि बाढीले ठूलो रूप लिएर दार्चुलामा क्षति भएको उल्लेख गर्दै उनले बढी क्षति हुनुमा नेपाल सरकारको बाढी प्रकोप न्यूनीकरणका लागि पुर्वतयारी अभाव रहेको औंल्याए ।
‘वैज्ञानिक योजना नहुनु, बाढी प्रकोपलाई सरकारले प्राथमिकता नदिनु र बजेट अभाव हो,’ उनको दाबी छ । पौडेलका अनुसार बाढी प्रकोप नियन्त्रणका लागि नेपाल–भारत सरकारले संयुक्त गुरुयोजना बनाउनुपर्ने भए पनि नबनाउनु, बाढी प्रकोप न्यूनीकरणका लागि भारततर्फको पूर्वाधार बलियो भए पनि नेपालको कमजोर रहनुलगायत हुन् । अर्को कार्यपत्र प्रस्तुत गर्दै विभागका जनताको तटबन्ध कार्यक्रम संयोजक नरेन्द्रबहादुर लामाले बर्सेनि हुने २ अर्ब २५ करोड घनमिटर जलप्रवाहमध्ये ८० प्रतिशत असारदेखि असोजसम्मको चार महिनामा हुने जानकारी दिए ।
उनले विभागमा जनशक्ति अभावका कारण बाढीप्रकोप नियन्त्रणका लागि एकजनाले १ लाख ६० हजार जनतालाई सेवा दिनुपर्ने अवस्था रहको बताए । ‘दार्चुलामा २ देखि ४ असारसम्म हालसम्मको सबैभन्दा बढी १५ हजार ४ सय ३० घनमिटर पानीको प्रवाह रहेको छ,’ लामाले भने, ‘मागअनुसारको कार्यक्रम गर्न नसकिएको, नीति, कानुन र संस्थागत सुधार अभाव देखिएको, विश्वव्यापी जलवायु परिवर्तन र जल उत्पन्न प्रकोपबीचको अन्तरसम्बन्ध विश्लेषण गर्नुपर्नेमा त्यसो गरिएको छैन ।’ सरकारका पूर्वसचिव शीतलबाबु रेग्मीले पनि कार्यपत्र प्रस्तुत गर्दै दार्चुला बाढीबाट नेपालले धेरै पाठ सिक्नुपर्ने अवस्था रहेको बताए । ‘धौलीगंगा बाँधमा गडबढीका कारण पनि बाढीबाट क्षति भएको अनुमान गरिएको छ,’ उनले भने ।
रेग्मीका अनुसार बाढीपछि नेपालको सिमाना संरक्षणको चुनौती देखा परेको, भारतले विस्थापितलाई पुनःस्थापितका लागि कार्य प्रारम्भ गरे पनि नेपालले अझै सुरु गरेको छैन । ‘अन्य विकसित मुलुकमा जस्तै बाढी सम्भावित क्षेत्रको बिमा व्यवस्थापन गर्नुपर्ने अवस्था छ,’ उनले थपे । प्रमुख राजनीति दललाई आमन्त्रण गरिए पनि कार्यक्रममा नेकपा माले र राप्रपा नेपालका प्रतिनिधिबाहेक अन्य दल उपस्थित थिएनन् । महाकालीमा आएको बाढीका कारण दार्चुलाको सदरमुकाम खलंगाको अधिकांश भाग बगाउनुका साथै ठूलो जनधन क्षति भएको थियो ।
No comments:
Post a Comment