Tuesday, July 30, 2013

भदौमा जलविद्युत्का अन्तर्राष्ट्रिय लगानीकर्ता भेला

राजधानी समाचारदाता 
काठमाडौं, १५ साउन
जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षण गर्न आगामी १२ र १३ भदौमा काठमाडौंमा जलविद्युत् लगानीकर्ताहरूको भेला हुने भएको छ । ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय, लगानी बोर्ड र एसियाली विकास बैंक (एडीबी) को सहयोगमा जलविद्युत् लगानी तथा विकास कम्पनीको आयोजनामा अन्तर्राष्ट्रिय जलविद्युत्सम्बन्धी बैठक हुने भएको हो । बैठकमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलविद्युत् प्रवद्र्धक, लगानीकर्ता, कम्पनीलगायतका प्रतिनिधिहरू सहभागी हुने भेलामा चार जलविद्युत् आयोजना लगानीका लागि प्रस्तावसमेत गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले जानकारी दिए ।
‘पहिला–पहिला लगानीका लागि मात्र आह्वान गर्ने गरेकामा यसपालिको बैठकमा विशेष चार परियोजनाहरू नै प्रस्तुत गर्दै छौं, ती आयोजनाहरूको छनोट गर्ने कार्य अघि बढाइरहेका छौं,’ उनले भने । भारत, चीन, अस्ट्रेलियासहित युरोपियन युनियनअन्तर्गतका मुलुकहरूको जलविद्युत्सँग सम्बन्धित प्रवद्र्धक, कम्पनी, प्रतिनिधिलगायतको सहभागिता रहने बैठकले विदेशी तथा स्वदेशी लगानीकर्तामा जलविद्युत्मा थप लगानीका लागि सहजीकरण गर्ने आशा कम्पनीले लिएको छ । विकसित मुलुकहरूले अन्य विकासोन्मुख मुलुकका लागि लगानी गराउन बनाएको सोभिनियर वेल्थ कोषका प्रतिनिधिहरूलाई बैठकमा आमन्त्रण गरिएको पनि कार्यकारी अधिकृत रौनियारले जानकारी दिए । ‘पहिचान भएका ठूला तथा मझौला जलविद्युत् परियोजनाहरूमा लगानी भिœयाएर जलविद्युत्को विकासमा बैठक फलदायी हुनेछ,’ मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने ।
दुई वर्षअघि जलविद्युत् क्षेत्रमा लगानी गर्नका लागि स्थापना भएको कम्पनीले ४२ मेगावाटको मिस्त्री खोलालगायतका आयोजनाहरूमा लगानी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीका अनुसार, करिब ९५ मेगावाट बराबरका चार आयोजनामा समेत कम्पनीले लगानीका लागि प्रक्रिया अघि बढाएको छ । १० अर्ब जारी पुँजी रहेको कम्पनीसँग अहिले ८ अर्ब रहेको छ ।

No comments: