भीम गौतम\राजधानी
-काठमाडौं, ३१ असार
डडेल्धुरा जिल्ला तिपुर गाविस–२ का ७३ वर्षीय जगनाथ भट्ट आइतबार साढे ४ नबज्दै हतारिँदै सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको डा. हर्क गुरुङ हल पुगे । वर्षाको मौसम भए पनि डडेल्धुरादेखि बजेट सुन्नकै लागि काठमाडौंसम्म आइपुगेका उनी सरकारले साढे ५ बजे आर्थिक वर्ष ०७०÷७१ बजेट सार्वजनिक गर्ने घोषणा गरेपछि हतारिँदै हल पुगेका हुन् । चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीदेखि मन्त्री, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मीले भरिभराउ हलमा उनी चप्पल लगाएर सामान्य पोसाकमा सहभागी थिए । बजेट सुन्न आएको भनेपछि प्रधानमन्त्री कार्यालय र हल छिर्दा उनलाई सुरक्षाकर्मीहरूले पनि रोकेनन् । साढे ५ बजे सार्वजनिक हुने भनिए पनि समय लम्बिँदै गयो र झन्डै साढे ९ बजेसम्म बसेका उनी अर्थमन्त्री शंकर कोइरालाले प्रस्तुत गरेको बजेट सिध्याएर मात्र फर्किए ।
‘चाँडै बजेट प्रस्तुत हुन्छ भनेर डडेल्धुराबाट एक महिनाअघि नै १५ दिनका लागि आया (आएको) हुँ तर १५ दिन ढिलो हुन्छ भनेर थाहा पाएपछि घर नगई सुन्न बसें,’ भट्टले राजधानीसँग भने, ‘सिट पाइँदैन कि भनेर साढे ४ बजे नै आया हुँ, बजेट सुरु हुन नै तीन घन्टा लाग्यो, तैपनि बसें ।’ बुढ्यौलीका कारण कानसमेत नसुन्ने भएकाले एयर फोनमा भाषण सुनेका र प्रत्यक्ष हेरेका वृद्ध भट्ट बजेट भाषण सुनेपछि आनन्द आएको बताउ“छन् ।
‘अर्थमन्त्रीले बजेट प्रस्तुत गरेको हेरेर मलाई आनन्द आयो, ठूला मान्छे पनि देख्न पाइयो,’ वृद्ध भट्टले भने, ‘कुन बेला मरिने हो, थाहा छैन, सिंहदरबार नै आएर बजेट सुन्ने धोको थियो, बाँचें भने अर्को वर्ष पनि आउँछु ।’ बजेट सुनेपछि आफू खुसी नभएको उनको प्रतिक्रिया थियो । ‘खोइ, बजेट सुन्दा युवालाई रोजगारी दिने, कृषि क्षेत्रको विकासका लागि गाउँमै कार्यक्रम लैजाने कुरा सुनिएन, खाली स्थानीय निकायमा बजेट जाने कुरा मात्र सुनियो,’ उनले भने । सुदूरपश्चिमलाई बजेटले केही नगरेकोप्रति उनी नमीठो महसुस गरिरहेका थिए । बेला–बेलामा रेडियोबाट बजेट सुनेका र टेलिभिजनमा हेरेका कृषि पेसामा आबद्ध भट्टको धेरै वर्षदेखि सिंहदरबारमै पुगेर बजेट सुन्ने ठूलो धोको थियो ।
सिंहदरबारभित्रको अर्थ मन्त्रालयमै दुई छोराले क्यान्टिन राखेपछि उनको धोको गत वर्ष पुगेको थियो । यस वर्ष दोस्रो पटक उनी हलमै गएका हुन् । अघिल्लो वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दा पनि उनी डडेल्धुरादेखि सिंहदरबार आइपुगेका थिए ।
‘त्यो बेला पनि बजेट सुन्दा त राम्रो लागेको थियो, खर्बौंको बजेटको कुरा सुनेर म त डडेल्धुरा पुगें तर बजेटचाहिँ कहिल्यै आइपुगेन,’ उनले भने, ‘बजेट सुन्दा आनन्द लाग्ने तर गाउँमा आइनपुगेपछि चाहिँ दिक्क लाग्ने रहेछ ।’ आफूले सुनेको बजेटबारे गाउँमा पुगेर समूह–समूहमा बताउने गरेको स्मरण सुनाउँदै भट्ट गाउँलेहरूले बजेट कसरी प्रस्तुत हुन्छ भन्नेदेखि को–को हुँदारहेछन् भनेर आफूलाई सोध्ने गरेको बताए । ‘बजेट सुन्नै यहाँ बस्या हुँ, अब डडेल्धुरा फर्केर सबैलाई बजेटबारे भन्छु,’ उनले भने ।
http://www.rajdhani.com.np/en/component/content/article/40-2013-01-07-17-38-33/11594---
http://www.rajdhani.com.np/en/component/content/article/40-2013-01-07-17-38-33/11594---
No comments:
Post a Comment