Sunday, July 21, 2013

प्राधिकरणका उच्च तहका कर्मचारीहरुको सरुवा

भीम गौतम\राजधानी
काठमाडौं, ६ साउन
नेपाल विद्युत प्राधिकरणको १ साउनदेखि लागु गर्ने भनिएको नयाँ संरचना आइतबारदेखि बल्ल लागु भएको छ । प्राधिकरणका पुर्व सञ्चालक समिति सदस्य टेकनाथ आचार्यको संयोजकत्वमा रहेको समितिले गत चैत्रमा बुझाएको प्रतिवेदनमा केही परिवर्तन गरी नयाँ संरचना लागु गरिएको हो । ६ चैत्रमा गरिएको निर्णयमा संगठन तथा व्यवस्थापन (ओएनएम) संरचनामा व्यापक परिवर्तन गरी ७ महाप्रबन्धक र तीन उपकार्यकारी निर्देशक रहने पुरानो व्यवस्था रहेकोमा अब सबैलाई उपकार्यकारी निर्देशकको नेतृत्वमा रहने गरी ७ मा झारिएको छ ।
उपकार्यकारी निर्देशकको नेतृत्वमा अर्थ र प्रशासनलाई एउटै बनाइएकोमा त्यसलाई छुट्टाछुट्टै बनाउनुका साथै कानुनलाई शाखा रहेकोमा विभाग बनाउने लगायतका सामान्य परिवर्तन गरी नयाँ संरचना लागु गरिएको हो । अब प्राधिकरणमा ७ वटा निकाय उपकाकायकारी निर्देशकको नेतृत्वमा रहनेछन् । ‘नयाँ संरचना अनुसारका तहगत रुपमा कर्मचारीहरुलाई सरुवा गरेर आइतबारदेखि लागु गरेका छौ ।’–प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले भने–‘ नयाँ संरचना अनुसार कर्मचारी मिलाएर नयाँ संरचना लागु गरिएको हो ।’
नया“ संरचना अनुसार, ७ उपकार्यकारी निर्देशकको नेतृत्वमा प्रशासनतर्फको अर्थ र प्रशासन तथा प्राविधिकतर्फका उत्पादन, प्रशारण, वितरण, इन्जिनियरिङ र योजना गरी ५ निकाय रहनेछन् । नयाँ उपकार्यकारी निर्देशकहरुमा अर्थमा लबहादुर घिमिरे र कामु माधव लुईटेल तथा इन्जिनियरिङमा वीरेन्द्र पाठकलाई यथावत राखिएको छ भने सरुवा गरेर उत्पादनमा राजेश्वर मान सुल्पिया, प्रशारणमा महेन्द्रलाल श्रेष्ठ, वितरणमा उपेन्द्रदेव भट्ट र योजनामा रामचन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ । नयाँ संरचना अनुसार योजना शाखा थप गरिएको हो ।
अर्थ, प्रशासन र आन्तरिक लेखा परीक्षण (आलेप) अन्तर्गत ९ निर्देशकको नेतृत्वमा विभाग रहेकोमा ७ तथा प्राविधिकतर्फ २९ निर्देशकको नेतृत्वमा विभाग रहेकोमा २७ मा झारिएको छ । ग्रीड विकास तथा प्रशारण तथा प्रणाली सञ्चालन मिलाएर प्रशारण, उत्पादन र निर्माण तथा उत्पादन, सञ्चालन तथा सम्भार मिलाएर उत्पादनका साथै ग्राहक तथा वितरण पुर्व र पश्चिमलाई मिलाएर वितरण विभाग बनाइएको छ । प्रशासन अन्तर्गतको तालिम केन्द्रलाई इन्जिनियरिङतर्फ राखिएको छ । त्यसैगरी निर्देशकहरुमा कानुमा शान्तिलक्ष्मी शाक्य, जनसाधनमा गोसाई केसी, सामान्य सेवा विभागमा गोविन्दराज खरेल, तालिम केन्द्रमा विन्दुप्रकाश जोशीलाई लगिएको छ ।
त्यसैगरी प्राधिकरण व्यवस्थापनले राहुघाट जलविद्युत प्रमुखमा मोहनरत्न शाक्य र त्रिशुली ३ जलविद्युतमा कामु उत्तम अमात्यलाई दिइएको छ । उत्पादन, वितरण र प्रशारण लाइन तीन वटै क्षेत्रका काम गर्दै आएको प्राधिकरणको संरचना भत्ता र खर्चिलो भएको भन्दै आवाज उठिरहेको बेला परिवर्तन गरिएको हो । तत्कालीन सञ्चालक सदस्य एवं प्राधिकरण पुर्नसंरचना समितिका संयोजक आचार्यको प्रतिवेदन १ साउनदेखि पूर्ण रुपमा कार्यवन्यन आउने बताएपनि ६ साउनदेखि मात्र कार्यावन्यनमा आएको हो ।
नयाँ संरचना लागु गर्नका लागि थप एक हजार दरबन्दी आवश्यक रहेको उल्लेख भएकोमा प्राधिकरणले त्यसका लागि कर्मचारी मागिएको पनि कार्यकारी निर्देशक यादवले जानकारी दिए । नया“ संरचनाले प्राधिकरणलाई चुस्त र दुरुस्त बनाउने प्राधिकरणको लक्ष्य छ ।

No comments: