Saturday, July 20, 2013

सक्कल फाइल प्राधिकरणबाटै गायब


भीम गौतम\काठमाडौं
थाइल्याण्डको सहवान्त इलेक्ट्रिक कम्पनीमार्फत ल्याइएका ट्रान्सफर्मर सम्वन्धि सक्कल फाइल नेपाल प्राधिकरण विद्युत भित्रैबाट रहस्यमय तरिकाले गायब भएको छ । गुणस्तरहिन ट्रान्सफर्मर प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेको बेला ०६६÷०६७ मा उक्त कम्पनीबाट ल्याइएका ट्रान्सफर्मरबारेको सक्कल फाइल प्राधिकरणबाट गायब भएको हो ।
प्राधिकरणका उच्च अधिकारीहरु समेत मुछिएको उक्त प्रकरणको सक्कल फाइल गायब भएपछि ट्रान्सफर्मर प्रकरण थप चर्किएको छ । विद्युत विकास विभागले अनुसन्धानका लागि मागेको उक्त सक्कल फाइल १० माघ २०६९ मा प्राधिकरणको मुल दर्ता शाखामा दर्ता भएको देखिए पनि त्यसपछि कहा“ हराएको भने अहिलेसम्म अत्तोपत्तो लागेको छैन । दर्ताका कर्मचारीहरुले कार्यकारी निर्देशकको सचिवालयमा पठाएको बताए पनि त्यो फाइल सचिवालयमा नपुगेको बताइएको छ । ‘सक्कल फाइल नै गायब हुनु रहस्यमय मानिएको छ ।’
–प्राधिकरणका एक अधिकारीले भने–‘भोलि मुद्दा पर्दाको अवस्थामा अदालतले सक्कल फाइल मगाउने कारणले षडयन्त्रपूर्वक मुद्दा जित्नका लागि गायब बनाएको हुन सक्छ ।’ फाइल मगाउँदा प्राधिकरणले दिन नसकी दर्ता शाखाबाट हराएको बताएपछि अख्तियारले दर्ताका कर्मचारीहरुस“ग बयान लिईसकेको छ भने प्राधिकरणले छानवीन समेत गठन गरेर त्यसले प्रतिवेदन समेत दिईसकेको छ । धु्रब ढकालको संयोजकत्वमा रहेको समितिले दर्ता शाखामा दर्ता भएको देखिए पनि सचिवालयमा बुझाएको नदेखिएको भन्दै मुल दर्ताका प्रमुख मोहमद अलिलाई विभागीय कार्बाही गर्न सिफारिस गरेको छ । सामान्य प्रशासन विभागले उनीसँग स्पष्टीकरण समेत सोधिसकेको छ ।
‘दर्ता शाखाले सचिवालयमा लगेर बुझाएको देखिदैन, यसमा दर्ताका कर्मचारीहरुको पनि संलग्नता देखिएको छ ।’–प्राधिकरणका एक अधिकारीले भने । तर केही कर्मचारीहरुले भने माथिल्लो स्तरबाट फाइल गायब गरेर साना कर्मचारीहरुलाई फसाउन खोजिएको आरोप लगाएको छ । मुल दर्ताका कर्मचारीहरुले भने आफूहरुले कार्यकारी निर्देशकको सचिवालयमा लगेर बुझाइएको बताएका छन् । प्राधिकरणसँगै रहेको फाइल एकाएक गायब हुनुलाई रहस्मय रुपमा हेरेको अख्तियारले सक्कल फाइलका लागि प्राधिकरणका ताकेता भने गरिरहेको छ ।
सहवान्त कम्पनीमार्फत ल्याइएका ट्रान्सफर्मर प्रकरणमा मुछिएका प्राधिकरणका विद्युत पौडेल, रामविजुल मण्डल, विनोद स्वर्णकार, मनोज बराल, सुरजप्रसाद साह र निमेषकुमार पोखरेलस“ग अख्तियारले बयान लिइसकेको छ । करिब एक बर्ष अघि तत्कालीन प्राधिकरण सञ्चालक डा. केपी दुलालको संयोजकत्वमा बनेको समितिको प्रतिवेदनमा सहवान्तसहित विभिन्न कम्पनीबाट २०६४ सालदेखि २०६९ सालसम्म खरिद गरेका पा“च हजार ट्रान्सफर्मर गुणस्तरहिन भएको प्रतिवेदनमा उल्लेख छ । सोही प्रतिवेदनको आधारमा अख्तियारले प्राधिकरण वर्तमान र पुर्व उच्च अधिकारीहरुसहित ३३ कर्मचारीविरुद्ध छानवीन गरिरहेको छ ।
ट्रान्सफर्मर प्रकरणबारे अनुसन्धान गरिरहेको अख्तियारले हालै प्राधिकरणसँग ट्रान्सफर्मबारेका सबै विवरणहरु मगाएको छ भने दोषी देखिएका कर्मचारीहरुसँग बयान लिईरहेको प्राधिकरण स्रोतले जनाएको छ ।
http://www.erajdhani.com/en/business/11735-----

No comments: