Tuesday, July 23, 2013

माथिल्लो कर्णालीको काम एक हप्ता रोक्न निर्देशन

काठमाडौं\रास–
भारतीय कम्पनी जीएमआरले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सबै प्रकृया एक हप्ताका लागि रोक्नका लागि सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार न्यायधीश डा. भरतबहादुर कार्कीको एकल इजलाशले आगामी १६ साउनसम्मका लागि आयोजनाबारेका कुनै पनि प्रकृया अघि नबढाई यथास्थानमा राख्न ऊर्जा मन्त्रालय, लगानी बोर्डलगायतको नाममा अन्तरिम आदेश दिएको हो ।
प्रभावित २० जिल्लाका चन्द्रकुमारी थानीसहित ३० जनाले सरकारले जीएमआरसँग गरिएको समझदारी र सर्भेक्षण अनुमतिपत्र बदर गर्न, डिटेल इन्जिनियरिङ रिपोर्ट नबुझ्न र आयोजना विकास सम्झौता (पीडीए) अघि नबढाउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । उनीहरुले दायर गरेको मुद्दामा विद्युत ऐनको दफा ५ को उपदफा ३ मा अनुमति कम्तीमा ५ बर्षका लागि दिनुपर्ने र नवीकरण गर्नुपरेमा एक बर्ष अघिनै निवेदन दिनुपर्ने उल्लेख भए पनि दुई महिना अघि मात्र निवेदन दिएको, आफुखुशी ३ सय मेगावाटको आयोजनालाई नौ सय मेगावाट पुर्याइएको जस्ता कुरा उल्लेख गर्दै बदर गर्न माग गरिएको छ ।
नेपालले २७ प्रतिशत निःशुल्क शेयर र १२ प्रतिशत निःशुल्क उर्जा पाउने गरी जीआएआरलाई प्रतिस्पर्धामार्फत दिइएको आयोजनाको पीडीएका लागि लगानी बोर्डले नेगोशेसन गरिरहेको छ । पीडीए गरे सन् २०२० भित्र आयोजनाको निर्माण कार्य सक्ने जनाइएको छ । तर विदेश आयात गर्ने गरी आयोजनालाई अघि बढाउन लागेको भन्दै केही व्यक्तिहरुले भने विरोध गरिरहेका छन् । आयोजनाका अनुसार, सन् २००८ देखि सुरु भएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), सार्वजनिक सुनुवाईं लगायतका कार्य सकिसकेको छ । सुर्खेत, दैलेख र अछाम जिल्लाको दोसाधमा निर्माण हुन लागेको आयोजनाको लागत एक खर्ब १४ अर्बको लागत अनुमान गरिएको छ ।

No comments: