Wednesday, July 3, 2013

तामाकोशी भी उर्जा मन्त्रालयको नमुना आयोजना

भीम गौतम\राजधानी
काठमाण्डौ, १८ असार
उर्जा मन्त्रालयले ८७ मेगावाटको तामाकोशी भी जलविद्युत आयोजनालाई नमुना आयोजनाको रुपमा प्रस्ताव गरेको छ ।
अर्थ मन्त्रालयले बजेट निर्माणको क्रममा आगामी बर्षका लागि प्रत्येक मन्त्रालयबाट नमुना आयोजना माग गरेकोमा उर्जा मन्त्रालयले तामाकोशी भी आयोजनालाई नमुना आयोजनाको रुपमा प्रस्ताव गरेको हो । उर्जा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले मन्त्रालयले तामाकोशी भी लाई नमुना आयोजनाको रुपमा अघि सारेको र यसको निर्माणका लागि आवश्यक प्रकृया अघि बढाईसकेको जानकारी दिए । ‘उर्जा मन्त्रालयले नमुना आयोजनाको रुपमा अघि बढाएको तामाकोशी भी को आयोजना निर्माणको कार्य अघि बढाउन लागेका छौ, यो सरकारको स्वामित्वमा रहने गरी निर्माण अघि बढाउन लागिएको छ ।’–उनले भने ।
तामाकोशी भी ४५६ मेगावाटको माथिल्लो तामाकोशीको क्यासेट आयोजना हो । माथिल्लो तामाकोशी स्थानीय समुदाय तथा नेपालकै नेपाल विद्युत प्राधिकरण लगायत सरकारी र अर्ध सरकारी निकायको सहभागितामा स्पेशल प्रोजेक्ट भेईकल (एसपीभी) मोडेलमा निर्माण भईरहेको भएपनि तामाकोशी भी भने प्राधिकरणले एक्लैले इन्जिनियर प्रिक्यूमेन्ट एण्ड कन्ट्रक्सन (इपीसी) मोडलमा बनाउन लागेको हो । माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य करिब ५० प्रतिशत सकिसकेको छ भने आगामी २०७२ को चैत्रभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
माथिल्लो तामाकोशी आयोजनाको पानीलाई नै प्रयोग गरेर निर्माण हुने उक्त आयोजनाको निर्माण कार्य सन् २०१५ भित्र सुरु गरेर चार बर्षभित्र पुरा गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका अनुसार, अबको साढे पा“च बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको लागत करिब १५ अर्ब छ ।
सन् २०१४ को जुलाईभित्र आयोजनाका लागि परामर्शदाता छनोट गरी आयोजनाको डिजाइन, टेण्डर डकुमेन्ट तयार गरिसक्ने तथा टेण्डर आह्वान गरी ६ महिनाभित्र सकेर आयोजनाको निर्माण कार्य अगाडी बढाउने लक्ष्य राखिएको प्राधिकरणका प्रबन्धक विश्वध्वज जोशीले जानकारी दिए । ‘छिट्टै आयोजनाको लागि परामर्शदाता छनोट गरी अर्को आर्थिक बर्षभित्र त्यसमार्फत डिजाइन र टेण्डर डकुमेन्ट तयार गरेर टेण्डर गरी आयोजनाको काम अघि बढाउने लक्ष्य राखेका छौ ।’–उनले भने । आयोजनाको सम्भाव्यता अध्ययन प्राधिकरणले सन् २०१२ मा सकेको थियो ।
माथिल्लो तामाकोशी आयोजनाको लागि प्रशारण लाइन निर्माण हुने कारणले प्रशारण लाइनमा निर्माणका लागि खासै समस्या नहुने उक्त आयोजनालाई नमुना आयोजनाको रुपमा अघि बढाउन उर्जा मन्त्रालयले प्रस्ताव गरेपछि आयोजनाको निर्माण कार्य द्रुतगतिमा अघि बढ्ने भएको छ ।

No comments: