भीम गौतम\राजधानी
काठमाडौं, ५ साउन
निर्माणाधीन १४ मेगावाटको कुलेखानी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजनाको ‘ब्रेक थु्र’ एक हप्ताभित्रै हुने भएको छ । ठेकेदार कम्पनीसँगको विवादलगायतका कारणले निर्माणमा ढिलाइ भएको आयोजनाको मुख्य सुरुङको ब्रेक थु्र हुन लागेको हो । आयोजनाको मुख्य सुरुङ ४ हजार ३ मिटर लामो छ । दुवैतिर खनिएको सुरुङ जोडिनुलाई जलविद्युत्को भाषामा ब्रेक थु्र भनिन्छ भने ब्रेक थु्र भएको दिन विशेष कार्यक्रम गर्ने गरिन्छ । यस अवसरमा समेत आयोजनाले कुलेखानी तेस्रो जलविद्युत् आयोजनामा विशेष कार्यक्रमसमेत गर्न लागेको छ ।
‘४ हजार ३ सय मिटर मुख्य सुरुङमध्ये अब ४५ मिटर मात्र बाँकी छ, एक हप्ताभित्रै ब्रेक थु्र हुन्छ,’ आयोजना प्रमुख मधुसूदनप्रताप मल्लले भने, ‘सबै अडिट सुरुङ निर्माण सम्पन्न भइसकेका छन् ।’ आयोजनाका अनुसार अडिट नम्बर १ को ३ सय ७, अडिट नम्बर २ को ४ सय ४८, अडिट नम्बर ३ को १ सय ९८ र अडिट नम्बर ४ को १ सय ९० मिटर सुरुङ निर्माण पूरा भइसकेको छ । मकवानपुर जिल्लाको भैंसेमा निर्माण भइरहेको आयोजनाको अन्य इलेक्ट्रिक, बाँधलगायतका कार्य भने जारी छ । हालसम्म आयोजनाको ६४ प्रतिशत काम पूरा भइसकेको छ भने सन् २०१४ को सेप्टेम्बरभित्र आयोजनाको निर्माण कार्य सक्ने लक्ष्य राखिएको छ ।
तर, आयोजना स्रोतले अझै केही महिना ढिलाइ हुने जनाएको छ । ‘लक्ष्य सेप्टेम्बर नै छ तर दुई–तीन महिना अझै आयोजनाको निर्माण कार्यमा ढिलाइ हुने देखिएको छ,’ आयोजनाका एक अधिकारीले भने, ‘समयमै बनाउनका लागि प्राधिकरणले बढी अनुमगन गर्ने तथा कार्यलाई द्रुत गतिमा अगाडि बढाउनका लागि सहजीकरण गर्नुपर्ने आवश्यकता छ ।’ केही दिनअघि ऊर्जामन्त्री उमाकान्त झाले भने आयोजनास्थलमै पुगेर आयोजना समयमै बनाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । उनले स्थानीयवासीहरूका साथै आयोजनाका अधिकारीहरूसँग अन्तरक्रियासमेत गरेका थिए ।
सन् २००८ भित्र निर्माण सुरु भएको आयोजना सन् २०११ भित्र सक्ने लक्ष्य राखिए पनि आयोजनाको ठेकेदार कम्पनी सिनो हाइड्रोले सम्झौता तोडेपछि ढिलाइ भएको थियो । २५ पुस २०६८ मा ठेक्का तोडेको सिनो हाइड्रोले सोही वर्षको फागुनदेखि थप ३० महिनाभित्र पूरा गर्ने सहमतिपछि पुनः निर्माणमा फर्केको थियो । आयोजनाका अनुसार २ अर्ब ४३ करोडको लागतमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजनाको लागत बढेर ४ अर्ब २९ करोड पुग्ने अनुमान गरिएको छ ।
आयोजनाले प्राधिकरणसँग उक्त प्रस्तावसमेत पेस गरिसकेको छ । आयोजनाका अनुसार ठेकेदार कम्पनी, बेलाबेलामा स्थानीयवासीले गरेको बन्द–हडताललगायतका कारणले आयोजनाको लागत ९० प्रतिशत र समय ६२ प्रतिशत बढेको छ ।
No comments:
Post a Comment