Wednesday, July 31, 2013

विद्युत् प्राधिकरणलाई वार्षिक साढे ८ अर्ब घाटा

भीम गौतम\राजधानी
 काठमाडौं, १६ साउन
विद्युत््को बिक्रीभन्दा लागत मूल्य बढी भएका कारण गत आर्थिक वर्ष २०६९÷७० मा मात्र नेपाल विद्युत्् प्राधिकरणले ८ अर्ब ५२ करोड रुपैयाँ घाटा बेहोर्नुपरेको छ । चुहावट, भारतबाट विद्युत्् ल्याउँदाको मूल्यान्तरलगायतका कारणले प्राधिकरणलाई गत वर्ष मात्र ८ अर्ब ५२ करोड रुपैयाँ घाटा हुन गएको हो । प्राधिकरणका अनुसार जलविद्युत््को लागत मूल्य प्रतियुनिट करिब ९ रुपैयाँ ४० पैसा पर्छ भने सरदर ८ रुपैयाँ ४ पैसामा प्राधिकरणले बिक्री गर्ने गरेको छ । लागत मूल्य बढी भएकै कारण प्राधिकरणलाई अहिले प्रतियुनिट करिब डेढ रुपैयाँ घाटा पर्ने गरेको छ ।
प्राधिकरणले विद्युत्् महसुल निर्धारण आयोगलाई पठाएको प्रगति प्रतिवेदनमा लागत मूल्यभन्दा बिक्री मूल्य कम भएको उल्लेख गर्दै प्रतियुनिट १ रुपैयाँ ३६ पैसा घाटा बेहोर्नुपरेको उल्लेख छ । भारतबाट आयातसमेत गरी ४ अर्ब २६ करोड युनिट विद्युत्् उत्पादन भए पनि ३ अर्ब १६ करोड युनिट मात्र बिक्री भएको प्राधिकरणका उपकार्यकारी निर्देशक लबबहादुर घिमिरेले जानकारी दिए । ‘चुहावट, मूल्यान्तरलगायतका कारणले मात्र प्राधिकरणले एक अर्ब ६ करोड युनिट विद्युत्् घाटा बेहोर्नुपरेको छ,’ उनले भने । प्राधिकरणका अनुसार प्राधिकरणका कर्मचारी, प्राधिकरणमातहतका निकायलगायतमा खपत हुने बिजुली मात्र करिब ४ करोड युनिट अर्थात् ३२ करोड रुपैयाँबराबरको छ ।
प्राधिकरणमा प्राविधिक र चोरी गरी २५ प्रतिशत चुहावट छ । त्यसमध्ये १० प्रतिशत चोरी चुहावट छ भने १० प्रतिशत प्राविधिक चुहावट छ । भारतबाट विद्युत्् आयात गर्दा करिब प्रतियुनिट दुई रुपैयाँ घाटा बेहोर्नुपरेको छ । गत आर्थिक वर्षमा मात्र प्राधिकरणले करिब ८० करोड युनिट विद्युत्् भारतबाट आयात गरेको थियो । प्राधिकरणले करिब डेढ अर्ब त आयातको मूल्यान्तरको घाटा मात्र बेहोर्नुपरेको छ । डलरको भाउ बढ्दा मात्र गत वर्ष प्राधिकरणले खिम्तीबाट २१ करोड ६६ लाख रुपैयाँ तथा भोटेकोसी जलविद्युत्् आयोजनाबाट किनेको विद्युत्् ११ करोड ५५ लाख रुपैयाँ गरी करिब ३४ करोड थप घाटा बेहोर्नुपरेको प्राधिकरणले जनाएको छ ।
विद्युत्् उत्पादनका लागि लाग्ने लागतभन्दा बिक्री मूल्य कम भएपछि प्राधिकरणले आयोगसमक्ष करिब २० प्रतिशत विद्युत्् महसुल तथा डेडिकेटेड फिडर लिनेलाई दोब्बर बढाउन प्रस्ताव गरिसकेको छ । ‘प्राधिकरणको घाटा कम गर्न हामीले आयोगलाई करिब २० प्रतिशत मूल्य बढाउन प्रस्ताव गर्नुका साथै डेडिकेटेड फिडर लिनेलाई दोब्बर तथा बर्सेनि सरदर ५ प्रतिशतका दरले विद्युत्् महसुल बढाउन आयोगसमक्ष प्रस्ताव गरेका छौं,’ प्राधिकरणका उपनिर्देशक जयराज भण्डारीले भने । प्राधिकरणले सर्वसाधारण तथा साना विद्युत्् ग्राहकका लागि २० युनिटसम्मको खपतबापत लिने ८० रुपैयाँलाई प्रतियुनिटको लागतका आधारमा महसुल निर्धारणका लागि प्रस्ताव नगरेको तर २० प्रतिशत बढाउँदाको हकमा १ सय रुपैयाँ पु¥याउन प्रस्ताव गरेको जनाएको छ ।
लोडसेडिङ घटाउन भारतबाट साढे २ सय मेगावाट विद्युत्् महसुल निर्धारण आयोगबाट दिएका निर्देशनबारे नेपाल विद्युत्् प्राधिकरणले दिएको प्रगति प्रतिवेदनमा लोडसेडिङ घटाउन भारतबाट २ सय ५४ मेगावाट विद्युत्् आयात गर्ने उल्लेख छ । हाल हिउँदमा १ सय ७४ मेगावाटसम्म विद्युत्् आयात गरेको उल्लेख गर्दै ऊर्जा अभाव हुने सुक्खायाममा थप ७० मेगावाट विद्युत्् आयात गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणका अनुसार भारतबाट कटैयामार्फत ७५ मेगावाट ल्याइएकोमा बढाएर १ सय २० मेगावाट, राजविराजमार्फत ७ लाई १० मेगावाट, जनकपुर÷जलेश्वरमार्फत १० लाई १२ मेगावाट, टनकपुरमार्फत ३० लाई बढाएर ४० मेगावाट थप्नुका साथै भैरहवामार्फत थप १० मेगावाट ल्याउन सकिने उल्लेख छ ।
आगामी हिउँदमा भारतबाट थप विद्युत्् ल्याउन नसके १६ घन्टासम्म लोडसेडिङ हुने अनुमान गरिएको छ । प्राधिकरणले चालू वर्षमा करिब १ अर्ब १० करोड युनिट विद्युत्् आयात गर्ने लक्ष्य राखे पनि बजेटमा भारतबाट ल्याउने विद्युत््को मूल्यान्तरका लागि मागेको ३ अर्ब बजेट दिएको छैन । बजेट नदिए अहिले ल्याइएको विद्युत््समेत ल्याउन कठिन हुने र थप विद्युत्् ल्याउन नसके १६ घन्टासम्म लोडसेडिङ हुने जनाएको छ ।

No comments: