| आएपछि कर्मचारी र सेवाग्राही अचम्ममा |
भीम गौतम\राजधानी
काठमाडौं, २६ असार
कुनै पनि निकायको छड्के गर्दा सम्बन्धित निकायलाई जानकारी दिएर नाटकीय काम गर्ने गरेको आरोप धेरै मन्त्रालय र सरकारी निकायमाथि लाग्ने गरेको छ तर ऊर्जामन्त्री उमाकान्त झाले बुधबार आकस्मिक तरिकाले छड्के गरेका छन् । उनले बुधबार नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्रमा पुगेर आकस्मिक छड्के गरेका हुन् । प्राधिकरणका विभिन्न निकायबाट सर्वसाधारणलाई दिइने सेवाको प्रभावकारिताबारे गुनासो आइरहेका बेला मन्त्री नै छड्केमा निस्किएका हुन् ।
राजधानीमा अवस्थित प्राधिकरणका केन्द्रबाट भएका सेवाबारे छड्के गर्ने योजना बनाएका झाले ऊर्जा सचिव विश्वप्रकाश पण्डित, प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवलाई आफ्नै गाडीमा सुटुक्क राखी जान लागेको ठाउँबारे केही जानकारी नदिइकन ऊर्जा मन्त्रालयका सहसचिव किरण शर्मालगायतलाई पछि लाग्न भनेका थिए । बिहान ११ बजे आफ्नै गाडीमा चढाउने बेलामा केही नभनेका मन्त्री झाले ऊर्जा मन्त्रालयबाट सिंहदरबारको दक्षिण गेटनजिक पुगेपछि मात्र प्राधिकरणका कार्यकारी निर्देशक यादवलाई यहाँबाट नजिकको प्राधिकरणको केन्द्र कहाँ छ भनेर सोधेका थिए । यादवले बानेश्वर र लगनखेल भनेपछि उनीसहितको टोली आकस्मिक रूपमा बानेश्वरमा छड्केमा निस्केको थियो ।
‘हामीलाई समेत मन्त्रीज्यूले केही भन्नुभएन, गेटमा पुग्ने बेलामा नजिकको वितरण केन्द्र कहाँ छ भनेर भनेपछि पो छड्केको लागि निस्केको थाहा पायांै,’ मन्त्रीका एक सहायकले भने । पूर्वऊर्जामन्त्री गोकर्ण विष्टले विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काट्न आफंै फिल्डमा हिँडे पनि वितरण केन्द्रमा गएर मन्त्रीले छड्के र निरीक्षण गरेको यो नै पहिलो पटक भएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
प्राधिकरणले सर्वसाधारणलाई दिएको सेवाबारे ऊर्जामन्त्री आफैं वितरण केन्द्रमा पुगेर सेवाग्राहीसँग भलाकुसारी गर्ने गरेको प्राधिकरणका अधिकारीहरूलाई थाहा छैन । तर, मन्त्री झा एक्कासि वितरण केन्द्रमा आएर छड्के गर्न थालेपछि केन्द्रका कर्मचारीहरू मात्र होइन, सेवाग्राहीसमेत अचम्ममा परेका थिए । उनले केन्द्रका प्रत्येक कोठामा पुगेर फाइल हेर्नुका साथै सेवाग्राहीको गुनासोसमेत सुनेका थिए । ‘मन्त्रीज्यूले झन्डै साढे दुई घन्टा छड्केमा बिताउनुभयो, एक घन्टाभन्दा बढी त सर्वसाधारणसँग प्राधिकरणको सेवाबारे जानकारी लिनुभयो,’ मन्त्रालयका सहसचिव शर्माले भने । मन्त्री झाले पहिला थाहा नै नदिइकन आकस्मिक रूपमा केन्द्रको निरीक्षण गरेको र यसअघि अरू मन्त्रीले यसरी गरेको थाहा नभएको प्राधिकरणका कार्यकारी निर्देशक यादव बताउँछन् ।
‘पहिला कुनै मन्त्री यसरी वितरण केन्द्रमा निरीक्षणका लागि गएको थाहा थिएन, उहाँले म, सचिवज्यूलगायतलाई सँगै गाडीमा हालेर लैजानुभयो,’ कार्यकारी निर्देशक यादवले राजधानीसँग भने, ‘यस्ता छड्के र निरीक्षणले प्राधिकरणको सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुग्छ ।’ छड्केका क्रममा केन्द्रले ग्राहकलाई दिनुपर्ने सेवामा ढिलासुस्ती गर्ने गरेको, पहुँचको आधारमा लाइन जोड्ने कार्यमा ढिलोचाँडो हुने गरेको, बक्यौता उठाउन तत्परता नदेखाएको, निवेदन दर्ता प्रक्रियामा कमजोरी देखिएको भेटिएको थियो । कमजोरी भेटिएलगत्तै मन्त्री झाको निर्देशनमा बुधबारै सेवाबारे छानबिन गर्न समिति गठन भएको थियो । समितिले बुधबारदेखि नै काम सुरु गरेको छ ।
मन्त्रालयले जीवछ मण्डल, अमृत लम्साललगायत रहेको तीन सदस्यीय प्राविधिक समिति बनाएको छ । समितिले बुधबारै वितरण केन्द्र पुगेर कागजपत्र मगाएको र सेवाबारे छानबिन गरेको थियो । समितिको प्रतिवेदनपछि सेवामा सुधारका लागि प्राधिकरणलाई निर्देशन दिने मन्त्रालयले जनाएको छ । मन्त्रीले बेला–बेलामा छड्के मात्र गरे पनि प्राधिकरणका केन्द्रहरूमा हुने ढिलासुस्तीदेखि अनियमिततासमेत न्यूनीकरण हुने अपेक्षा सर्वसाधारणको छ ।
|
No comments:
Post a Comment