Tuesday, July 30, 2013

प्रसारण लाइनको अभावमा ३५ करोडको विद्युत् खेर

भीम गौतम\राजधानी
काठमाडौं, १५ साउन
प्रसारण लाइनको अभावमा वार्षिक ३५ करोड रुपैयाँबराबरको विद्युत्् खेर गइरहेको पाइएको छ । पर्याप्त मात्रामा प्रसारण लाइन नहुँदा ३५ करोड रुपैयाँबराबरको विद्युत्् खेर गएको नेपाल विद्युत्् प्राधिकरणको तथ्यांकले देखाएको छ । प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार आर्थिक वर्ष २०६९÷७० मा करिब ५ करोड युनिट बराबर विद्युत्् खेर गएको थियो । विशेष गरी २२० केभी क्षमताको ७५ किलोमिटरको खिम्ती–ढल्केबर प्रसारण लाइन तथा २२० केभीकै ७५ किलोमिटरको हेटौंडा–भरतपुर ट्रान्समिसन लाइनको निर्माणमा भएको ढिलाइका कारण विद्युत्् खेर गएको हो ।
‘प्रसारण लाइन अभावका यस वर्षको वर्षायाममा ५ करोड युनिट विद्युत्् खेर गयो, आगामी हिउँदमा कति खेर जान्छ भन्ने यकिन गर्न सक्ने अवस्था छैन,’ केन्द्रका प्रमुख भुवन क्षत्रीले भने । आगामी वर्षसमेत प्रसारण लाइन अभावमा करिब ५० मेगावाट विद्युत्् खेर जाने अनुमान गरिएको छ । खिम्ती–ढल्केबर आयोजना सन् २००७ मा निर्माण सुरु भएर दुई वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको थियो । तर, लामो समयसम्म आयोजनाको काम स्थानीयवासीको अवरोधका कारण अघि बढ्न सकेन । तीन दिनअघि स्थानीय र आयोजना पक्षबीच सहमति भएकाले निर्माणको काम सुरु भएको छ ।
सन् २००९ बाट सुरु भएर यसै वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको हेटौंडा–भरतपुर प्रसारण लाइन आयोजना समयमै सम्पन्न हुने सम्भावना कम छ । हेटौंडा–भरतपुर सम्पन्न नहुँदा १४४ मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्यमस्र्याङ्दी र ६५ मेगावाटको मस्र्याङ्दी आयोजनाबाट उत्पादित बिजुली खेर गइरहेको छ । त्यसैगरी, खिम्ती–ढल्केबर प्रसारण लाइन नबन्दा तीबाहेकका त्रिशूली, चिलिमे, सुनकोसी, इन्द्रावतीलगायतका आयोजनाबाट उत्पादित विद्युत्् खेर गइरहेको छ । यो प्रसारण लाइन आयोजना नबन्दा प्राधिकरणलाई चुहावटबाट मात्र करिब १० करोड रुपैयाँ घाटा भइरहेको छ ।
निजी ऊर्जा प्रवद्र्धकहरूका अनुसार आगामी वर्षभित्रै पूरा गर्ने लक्ष्य राखिएको २२ मेगावाटको सानिमा, ८ दशमलव ४ मेगावाटको धादिङको आ“खुखोलालगायतका आयोजनाबाट उत्पादन हुने विद्युत््समेत प्रसारण लाइनको अभावमा खेर जाने अवस्थामा पुगेको छ । प्रसारण लाइन नभएकै कारण सिप्रिङ खोलाबाट उत्पादन हुने १० मेगावाटमध्ये ६ मेगावाट निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले उपयोग गरिरहे पनि बाँकी ४ मेगावाट खेर गइरहेको छ । ‘प्रसारण लाइन निर्माणविना विद्युत्् ओहोरदोहोर गर्न सक्दैन, विभिन्न बाधा अवरोधका कारण अधिकांश प्रसारण लाइनको निर्माण अलपत्र छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘प्रसारण लाइनको अवस्था यस्तै रहने हो भने विद्युत्् भएर पनि बढी लोडसेडिङ गर्नुपर्ने अवस्था आउँछ ।’
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष डा. सुवर्णदास श्रेष्ठ प्रसारण लाइनको अभावमा निर्माणाधीन धेरै आयोजनाको विद्युत्् खेर जाने अवस्था रहेको र यसप्रति सरकार समयमै गम्भीर हुनुपर्ने बताउँछन् । ‘प्रसारण लाइनमा भएको ढिलाइले निजी प्रवद्र्धकहरूले बनाउने आयोजना सम्पन्न भएपछि विद्युत्् खेर फाल्नुपर्ने अवस्था छ, सरकारले छिट्टै प्रसारण लाइन निर्माणका लागि चासो दिनुपर्छ,’ उनले भने ।
हालै सार्वजनिक बजेटमा समेत साढे १३ अर्ब रकम प्रसारण लाइन निर्माणका लागि छुट्ट्याइएको छ, तर अधिकांश प्रसारण लाइन निर्माणमा स्थानीयवासीदेखि वन, वातावरण मन्त्रालयलगायतको अवरोधका कारण बजेट कार्यावन्यनमा जटिलता देखिएको छ । प्रसारण लाइन निर्माणको ग्यारेन्टी गर्न नसकेर प्राधिकरणले २१० मेगावाटका सुपरसिक्स आयोजनाका साथै अन्य जलविद्युत् आयोजनाको विद्युत्् खरिद सम्झौता (पीपीए) गर्न ढिलाइ गरिरहेको छ ।

No comments: